मुम्बई: भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इङ्ल्यान्डविरुद्ध हुने एक दिवसीय शृंखला र च्याम्पियन्स ट्रफीका लागि नयाँ टोलीको घोषणा गरेको छ। शनिबार मुम्बईको वानखेडे स्टेडियममा मुख्य चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्माले १५ सदस्यीय टोली सार्वजनिक गरे।
तेज बलर मोहम्मद शामीले चोटबाट फर्किएर एक वर्षपछि टोलीमा पुन: स्थान बनाएका छन्। अष्ट्रेलिया भ्रमणको समयमा घाइते भएका जसप्रित बुमराह पनि फिट भएर टोलीमा सामेल भएका छन्। चोटका कारण शामी २०२३ को नोभेम्बरदेखि बाहिर थिए। यस टोलीमा एकदिवसीय विश्वकप २०२३ खेल्ने ११ खेलाडीलाई समावेश गरिएको छ। ती खेलाडीहरूमा रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, जसप्रित बुमराह, मोहम्मद शामी र कुलदीप यादव रहेका छन्।
विश्वकप टोलीमा रहेका सूर्यकुमार यादव, इशान किशन, शार्दुल ठाकुर र मोहम्मद सिराज यसपटक टिमबाट बाहिर परेका छन्। नयाँ अनुहारका रूपमा ऋषभ पन्त, यशस्वी जैसवाल, वाशिङ्गटन सुन्दर र अर्शदीप सिंह टोलीमा आएका छन्।
च्याम्पियन्स ट्रफी
यो प्रतियोगिता १९ फेब्रुअरीदेखि ९ मार्चसम्म पाकिस्तान र युएईका चार सहरमा आयोजना हुनेछ, जसमा लाहोर, कराँची, रावलपिंडी र दुबई रहेका छन्। भारतीय टोलीका सबै खेल दुबईमा हुनेछन्। भारतले आफ्नो पहिलो खेल २० फेब्रुअरीमा बंगलादेशविरुद्ध दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल्नेछ। दोस्रो खेल २३ फेब्रुअरीमा पाकिस्तानविरुद्ध हुनेछ भने तेस्रो खेल २ मार्चमा न्युजिल्यान्डविरुद्ध हुनेछ। समूह ‘ए’ मा भारतसँगै पाकिस्तान, बंगलादेश र न्युजिल्याण्ड रहेका छन्।
प्रतियोगिताका सेमिफाइनल खेलहरू ४ र ५ मार्चमा आयोजना हुनेछन्। फाइनल खेल ९ मार्चमा हुनेछ।
Leave a Comment