काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्व र भावी राजनीतिक दिशाबारे महत्वपूर्ण सहमति भएको छ। पार्टी सभापतिमा रवि लामिछाने नै रहने र आसन्न प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह (बालेन) अघि सारिने सहमति भएको स्रोतले जनाएको छ।
रवि लामिछाने र बालेन शाहबीच भएको भनिएको उक्त सहमतिमा भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले गरेको आन्दोलनको अपनत्व लिँदै आन्दोलनका क्रममा घाइते भएका तथा शहिद परिवारका मागहरूलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सहमति अनुसार समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य प्राप्तिका लागि गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासलाई संस्थागत गर्ने लक्ष्य लिइएको छ। आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने स्पष्ट मार्गचित्रको इमानदार कार्यान्वयनमा दुवै पक्ष प्रतिबद्ध रहने उल्लेख छ।
सहमति पश्चात् स्थापना हुने एकीकृत राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृति रहने र चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम गरिनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ।
संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा समुचित जिम्मेवारी दिइने उल्लेख छ। आसन्न आमनिर्वाचन लगत्तै यस सहमति अनुरूप पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने जनाइएको छ।
साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध हुन आव्हान गरिएको छ।

उक्त सहमतिले नेपाली राजनीतिमा नयाँ समीकरण र बहसको ढोका खोल्ने विश्लेषकहरूको भनाइ छ।
























