किभ, २४ माघ – युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलन्स्कीले रूससँग युद्ध अन्त्यका लागि वार्ता गर्न तयार रहेको बताएका छन्। रूस–युक्रेन युद्धमा हालसम्म ४५ हजार १०० युक्रेनी सैनिक मारिएको तथा ३ लाख ९० हजार सैनिक घाइते भइसकेको जानकारी दिँदै उनले शान्तिवार्ताको विकल्प खुला रहेको जनाएका हुन्।
एक युट्युब अन्तर्वार्तामा जेलन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न सकिने बताए पनि यसको लागि अमेरिकासहित पश्चिमी मुलुकहरूले उपयुक्त वातावरण बनाउनुपर्ने धारणा राखे। उनले भने, “यदि शान्ति स्थापनाका लागि यही एक मात्र उपाय हो भने हामी यसलाई अपनाउनेछौं। तर, वार्तामा म पुटिनप्रति निकै निर्दयी हुनेछु। वास्तवमा, म उसलाई शत्रु ठान्छु, र उसले पनि मलाई त्यही रूपमा हेर्छ।”
युक्रेनी राष्ट्रपतिले तीन वर्ष बितिसक्दा पनि युद्धको मैदानमा द्वन्द्व यथावत रहेको बताए। २४ फेब्रुअरी २०२२ मा सुरु भएको रूस–युक्रेन युद्ध तीन वर्ष पूरा गर्न नजिक छ। जेलन्स्कीका अनुसार यदि वार्ता अघि बढाउने हो भने अमेरिका, युरोप, युक्रेन र रूस सबै पक्षको सहभागिता आवश्यक छ। युक्रेनी भूमि कब्जा गर्ने कुनै पनि रूसी प्रयास स्वीकार्य नहुने बताउँदै उनले पश्चिमी समर्थन अपर्याप्त रहेको गुनासो गरे।
उनले रूसको हताहत संख्यासम्बन्धी दाबी गर्दै २०२२ यता ३.५ लाखभन्दा बढी रुसी सैनिक मारिएको र ७ लाख घाइते वा बेपत्ता भएको जानकारी दिए। यद्यपि, यी तथ्यांकको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। साथै, जेलन्स्कीले रूसमाथि लगाइएका प्रतिबन्धहरू हटाउने पक्षमा नरहेको प्रष्ट पारे। उनको बुझाइमा प्रतिबन्धहरू हटाए रूसले फेरि आक्रमण गर्ने जोखिम बढ्नेछ।
युक्रेनी अधिकारी किथ केलोग र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज वार्ताका लागि वासिङ्टनसँग सम्पर्कमा रहेको उनले खुलासा गरे।
यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई युद्ध सहयोगको बदलामा दुर्लभ ‘मार्थ खनिज’ साटासाट गर्ने सम्झौता गर्न सकिने बताएका थिए। उनले अमेरिकाले युरोपियन साझेदारहरूभन्दा धेरै सैन्य र आर्थिक सहयोग गरेको दाबी गर्दै, युद्ध सुरु भएयता युक्रेनलाई करिब ६३ अर्ब डलर सहायता उपलब्ध गराइसकेको जानकारी दिए।
ट्रम्पले आफ्नो चुनावी अभियानमा युक्रेन युद्ध एकै दिनमा अन्त्य गर्ने प्रतिज्ञा गरे पनि त्यसबारे विस्तृत योजना खुलाएका छैनन्।























Leave a Comment