बिहीबारदेखि सुरु भएको थुनछेक बहस आज सकाउने तयारी गरिएको छ। सरकारी वकिलतर्फको बहस पूरा भएको छ भने लामिछानेतर्फका केही वकिलको बहस बाँकी रहेको जानकारी छ। आइतबार उनी अदालतमा उपस्थित भएपछि बहस फेरि सुरु भएको हो। अहिले लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई सहकारी ठगी मुद्दामा बुधबार पहिलो पटक रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको थियो। त्यसपछि उनलाई हाजिरी जमानीमा रिहा गर्दै बिहीबार पुनः उपस्थित हुने सर्तमा श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छोडिएको थियो।
सुप्रिम सहकारीको मुद्दामा १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोप छ। यससम्बन्धी मुख्य मुद्दा गत वैशाख ३ मा दायर भए पनि लामिछानेलाई पूरक उजुरीमार्फत समेटिएको हो।
प्रहरी अनुसन्धानका क्रममा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ लामिछानेको नाममा ऋणका रूपमा लिइएको पाइएको थियो।
यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर उनी रिहा भएका थिए। रुपन्देहीपछि चितवन र पर्सा अदालतमा पनि उनलाई बयान दिनुपर्ने बाँकी छ। ती जिल्लाबाट पक्राउ पुर्जी जारी भएपछि उनी ती ठाउँमा पनि बयान दिइसकेका छन्।
Leave a Comment