अहमदाबाद, भारत – भारतले आइतबार आयोजित आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै ऐतिहासिक तेस्रो उपाधि जितेको छ। अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले घरेलु मैदानमै विश्वकप जित्ने पहिलो टोली बन्ने कीर्तिमान समेत बनाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल तयार पारेको थियो। भारतका लागि सञ्जु सामसनले ४६ बलमा ८९ रनको उत्कृष्ट पारी खेले भने अभिषेक शर्माले २१ बलमा ५२ रन बनाए। त्यस्तै ईशान किशनले २५ बलमा ५४ रनको योगदान दिए।
विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्डको सुरुआत कमजोर रह्यो। भारतीय बलरहरूले सुरुदेखि नै दबाब सिर्जना गरेपछि न्यूजिल्याण्डको टोली १५९ रनमा अलआउट भयो। भारतका स्टार तीव्र गतिका बलर जसप्रित बुमराहले शानदार प्रदर्शन गर्दै ४ ओभरमा मात्र १५ रन दिँदै ४ विकेट लिए। उनलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरियो।
यसैगरी अक्षर पटेलले ३ विकेट लिएर भारतको जितमा महत्वपूर्ण भूमिका खेले। न्यूजिल्याण्डका लागि टिम सिफर्ट र डारिल मिचेलले केही समय प्रतिरोध गर्ने प्रयास गरे पनि भारतीय बलिङ आक्रमण अगाडि उनीहरू टिक्न सकेनन्।
भारतले यस जितसँगै टी–२० विश्वकप इतिहासमा तेस्रो पटक उपाधि जित्दै नयाँ कीर्तिमान बनाएको छ। साथै, घरेलु मैदानमा विश्वकप जित्ने पहिलो टोली बन्न सफल भएको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सञ्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।
यसअघि सन् २०२४ मा भारतले टी–२० विश्वकप जितेको थियो भने यस वर्षको जितसँगै भारतले आफ्नो प्रभुत्व पुनः स्थापित गरेको छ। अहमदाबादको खचाखच भरिएको रंगशालामा भारतीय समर्थकहरूले ऐतिहासिक जितको उत्सव मनाएका थिए।
























