काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘नेशनल क्याडेट कोर’ (एनसिसी) प्रतिनिधिहरूले शिष्टाचार भेट गरेका छन्।
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सव अवसरमा आयोजित युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो।
प्रधानमन्त्री ओलीले युवा आदानप्रदान कार्यक्रमले मित्र राष्ट्रका सेनाबीच आपसी सम्बन्ध सुदृढ गर्ने र क्याडेटहरूबीच सीप, संस्कृति तथा परम्पराको आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले यस्ता कार्यक्रमले सामाजिक, आर्थिक तथा सांस्कृतिक समझदारी बढाउने र विश्वलाई एकताबद्ध समुदायका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमले युवाहरूलाई अनुशासित, जिम्मेवार र भविष्यका सक्षम नेतृत्वकर्ताका रूपमा तयार गर्न मद्दत पुर्याउने उनले बताए। एनसिसीले युवामा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाका गुणहरू विकास गर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सहभागीहरूलाई ऊर्जावान तथा सम्मानित भविष्य निर्माणको प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे।
नेपाली सेनाको निमन्त्रणामा नेपाल आएको ३४ सदस्यीय भ्रमण टोलीमा भारतको एनसिसीका महानिर्देशक गुरवीर पाल सिंह, भूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्स प्रतिनिधिमण्डलका प्रमुख रिफान अली तथा नेपालका राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल सहभागी थिए।
Leave a Comment